-डा. युवराज संग्रौला ।
मैले तीन चिज एकै ठाउँमा देखें । एउटा रुखमा अरिङ्गालको गोलो थियो। त्यसले राजवृक्षको हाँगा र फेद टोकेर आफ्नो गुण बनाउँदो रहेछ । रुखका माथिका हाँगा सुकेका थिए । मैले रैथाने औषधि सिकाएँ । अरिङ्गाल मौरीको घारमा मौरी खान जाँदा रहेछन् र मौरीहरू घारको मुखमा भेला भएर पखेटा फर्फराएर आफ्नो प्रतिरक्ष गर्दारहेछन् । आफ्नो घारको भविष्यका लागि जीवन दाउमा राखेर लड्दारहेछन् । यो संसार त ठूलो छ, जताजता गएर रस चुस्दै रुखमा बसे पनि हुने । तर अरिङ्गालको प्रभुत्वको सामना गरेर आफ्नो घार जोगाउँदारहेछन, मौरीले । नजिकै एउटा मुसो मरेको रहेछ । अनि स्याउँस्याउँती औंसा मुसाको कुहिएको मासु खान सगवगाई रहेका रहेछन्।
१. मैले घोरिएर सोचेँ, अरिङ्गालमा अहंकार, दुष्ट्याइँ हुँदोरहेछ । ऊ आफ्नो अस्तित्वका लागि अरूमाथिको अतिक्रमणमा बाँच्दो रहेछ। ऊ सचेत छ, बाठो र बुद्धिमानी छ । तर आफ्नो बुद्धि केवल आफ्नो हित र अरूको अहितका लागि प्रयोग गर्दोरहेछ। यो किराहरूको संसारको कुलीन, सम्भ्रान्त, माफिया रहेछ। तापनि आफ्नो गुणका लागि एकताबद्ध रहेछ ।
२. मौरी मह लगाउँछन् । आफू पनि बाँच्छन, अरू अनेक प्राणीको बाँच्ने औषधि पनि बनाउँदा रहेछन। अत्यन्त बुद्धिमानी मौरीको बुद्धि अनुशासन र सिर्जनात्मक हुँदो रहेछ।
३. औंसाहरूको कुनै लक्ष्य छैन, केवल खानु, स्याउँस्याउँती सलबलाउनु मात्र जीवन रहेछ। औंसाले आफ्नो घर बनाउँदो रहेनछ । अघाएपछि पखेटा हालेर फेरि मरेको लास खोज्दो रहेछ फूल पार्न । औंसाको बुद्धि छ वा छैन थाहा भएन।
हामी नेपाली यी कुन जातसँग नजिक छौँ ? हाम्रो अहङ्कारी, परपीडक, हिंसात्मक प्रवृत्ति हेर्दा अरिङ्गाल जस्तो पनि लाग्छ । बेपरवाह, लक्ष्यहीन अस्तित्ववाला औंसा जस्तो पनि लाग्छ। जे होस्, हामी अरूको खान, उद्देश्यहीन जीवन बाँच्न र अपनत्वमाथि आँखा चिम्लिन माहिर प्राणी जस्ता रहेछौं जो रोगको निदानभन्दा रोग फैलाउन, आफ्नो घरको महत्त्व नभएका, भ्रष्ट र उटपट्याङ्ग राजनीति गर्ने, अर्काका ढाड र टाउकमा हिँड्ने, आफू मात्र खाएर रूप फेर्ने प्रवृत्ति हेर्दा औंसा हौं जस्तो लाग्यो ।
हामी पक्कै पनि सिर्जनात्मक मौरी होइनौँ किनकि हामी हाम्रो गुँडको माया गर्दैनौँ। हामी अरिङ्गाल हुन सक्दैनौँ किनकी आफ्नो रक्षा गर्न हामीसँग टोक्न सक्ने गुण छैन । हामी औंसा पनि होइनौँ, किनकी हामी अरू कसैले फोहोरमा फूल पारेर जन्मिएका पनि होइनौँ । दुःख लाग्यो, हामी मौरी जस्ता कर्मठ र देशभक्त किन हुन सकेनौँ ? हामी के हौं र के हुन्छौँ भविष्यमा ? उटपट्याङ्ग राजनीति, जत्थाउन्माद, अफवाहका पिछुवा, पलायनप्रेमी र मेहेनतविरोधी, अरूको लुटेर आफू धनी र नेता हुने प्रवृत्ति, नाम चाहिँ साधु काम चाहिँ चोरी र लुट, अनि पाखण्डी प्रवृत्ति हेर्दा बाँदर चाहिँ हौं कि जस्तो लाग्ने। बुद्धि पनि छ बनाउने तर अर्काका कुरा काट्दाकाट्दै, षड्यन्त्र गर्दागर्दै, उटपट्याङ्ग सिद्धान्तहीन राजनीति गर्दागर्दै, मूर्ख काम गर्दागर्दै कयौँ पुस्ता बिताइसक्यौँ। देशलाई चाहिएको उत्पादन र लैनो अर्थतन्त्र हो, ‘पालेको चाहिँ थारो गाई।’ सोचौँ।’
