USAID

कोरोना विरुद्धको खोपमा सफलता पाएको रुसको दावी


मस्को । रुसले कोरोना विरुद्धको खोप आफूले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाइँलाई जित्ला, संसारभर रुसले बनाएको भनिएको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले निकपर्सि १२ अगस्टमा कोरोना विरुद्धको खोप विश्व स्वास्थ्य संगठनमा दर्ता गर्ने जनाएको छ ।

रुसका स्वास्थ्य उपमन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिएका छन् । यो खोप रक्षा मन्त्रालय र गामलेया रिसर्च इन्स्टिच्यूटले संयुक्तरुपमा विकास गरेका हुन् ।

रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको र छिट्टै बजारमा खोप ल्याउने बताएको छ । जुन १८ देखि क्लिनिकल ट्रायल भएको थियो । परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको पाइएको थियो । पहिलो चरणको परीक्षणमा सहभागी भएकालाई जुलाई १५ र दोस्रो चरणकोलाई जुलाई २० मा डिस्चार्ज गरिएको थियो ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सेप्टेम्बरको अन्त्यसम्ममा खोपको उत्पादन हुने बताए । संसारभर सयभन्दा बढी खोपको परीक्षण भइरहेको छ जसमा केहीको अन्तिम परीक्षण चलिरहेको छ । यद्यपि हालसम्म आधिकारिक रुपमा कोरोना विरुद्धको खोप आइसकेको छैन । गत डिसेम्बरबाट देखिएको कोरोना संक्रमणबाट संसारभर १ करोड ९४ लाख ९९ हजार मानिस बिरामी भएका छन् भने ७ लाख २३ हजार ८८९ संक्रमितको मृत्यु भइसकेको छ । १ करोड १८ लाख ६४ हजार संक्रमित निको भएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *