बेरुत । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ ।
विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताइएको छ ।
राष्ट्रपति माइकल इयोनले आज राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

विस्फोटबाट गोदाम घर वरपरका भौतिक संरचना पनि ध्वस्त भएका छन् । विष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।
गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएकोमा २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट मात्रै रहेको बताइएको छ । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ ।

राष्ट्रपति माइकल इयोनले गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको प्रति असन्तुुष्टि जनाएका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।’
विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

