नेपाल र चीन एउटै डुङ्गामा, नेपालसँगको सम्बन्धलाई उच्च स्थानमा राखेकाे छुः चिनियाँ राष्ट्रपति सी

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र चीन एउटै डुङ्गामा रहेकाे उल्लेख गर्दै आफ्नो देश र नेपालबीचकाे सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन् ।

दुई देशबीच दौत्यसम्बन्ध सम्बन्ध भएको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

राष्ट्रपति सीले दुबै देश एउटै डुङ्गामा रहेर कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेकाे उल्लेख गर्दै त्यसले नेपाल-चीन मित्रतामा नयाँ अध्याय लेखेको बताएका छन् । म नेपालसँगको मित्रताको विकासलाई ठूलो महत्व राख्छु, उनले भने, दुबै देशका जनताको हित एवम् क्षेत्रीय स्थायितत्व र विकासमा सकरात्मक योगदान पुर्याउन म राष्ट्रपति भण्डारीसँग काम गर्न इच्छुक छु ।

उनले दुबै देशबीच कूतनीतिक सम्बन्ध स्थापना भएदेखि यता एकले अर्कालाई समानता र सम्ममानपूर्ण व्यवहार गर्दै आपसी राजनीतिक विश्वास र पारस्परिक लाभदायी सहकार्य बढाउँदै लगेकाे उल्लेख गरेका छन् । गत वर्ष आफू र नेपालका समकक्षीले भ्रमण आदानप्रदान गरेको स्मरण गर्दै राष्ट्रपति सीले दुबै देशबीचको विकास र समृद्धिमा लक्षित रणनीतिक र सहयोगी साझेदारको विकासमा त्यसले नयाँ उचाइ थपेकाे बताए ।

चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन मित्रताको इतिहास धेरै पुरानो रहेको र यो सम्बन्ध अनन्तकालसम्म कायम रहने पनि उल्लेख गरेका छन् ।

यसैबीच चिनियाँ प्रधानमन्त्री लि ख छ्याङले नेपाली समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै कोरोना भाइसरको महामारीको विरुद्धमा लड्न नेपाल र चीनले हात मिलाएको र त्यसले पारस्परिक विश्वास र मित्रता बढाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री लीले नेपालसँगको बहुपक्षीय सहयोगलाई अभिवृद्धि गर्न, संयुक्त रुपमा उच्चकोटीको बेल्ट एण्ड रोड निर्माण गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चीन इच्छुक रहेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *