नेकपा स्थायी समितिको बैठकअघि तीन नेताबीच वार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चरम विवादकाबीच स्थायी कमिटीको बैठक बलुवाटारमा सुरु हुनै लाग्दा अध्यक्षद्वय केपी शर्मा ओली, पु्ष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच वार्ता चलिरहेकाे छ । स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना सार्वजनिक भएकाे केही घण्टामै बैठक सुरू गर्ने तयारीमा नेताहरू छन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार बैठकमा सहभागी भएका छन् । बैठकअघि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नभएको र आफूहरु बैठक कक्षमा भएको बताएका थिए ।

‘हामी बैठक कक्षमा छौं । दुई अध्यक्षबीचको सहमतिमा आज ११ बजे बैठक बस्ने भनेर निर्णय भएको हो । त्यसलाई परिवर्तन गर्न कम्तिमा पनि दुई अध्यक्षको सहमति हुनुपर्छ । दुई अध्यक्षबीच सहमति भएको पनि हैन । त्यसकारण निर्धारित समय अनुसार हामी बैठकमा आएका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

यसअघि पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको सूचना नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले दिएका थिए ।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *