USAID

प्रचण्ड–नेपालको एक पदको प्रस्ताव, ओलीले दुबै पद महाधिवेशनसम्म लम्ब्याउन प्रयत्न गर्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद र अन्तर कलहले स्थगित हुँदै आएको स्थायी कमिटीको आज बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नै तयारीसाथ प्रस्तुत हुने देखिएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छोड्न ओलीलाई अनुरोध गर्नेछ । तर ओली पक्षले भने दुबै पद महाधिवेशनसम्म नछाड्ने अडान राख्ने एक स्रोतले बताएको छ ।

बैठकमा दुबै पक्षले आफ्नोतर्फबाट पार्टी विभाजनलाई बल पुर्याएको आक्षेप नलाग्नेगरी बीचको उपयुक्त निकास निकाल्न दुवै पक्षले सक्रियता बढाएका छन् । तर खुमल्टार र बालुवाटारमा आ–आफ्नै कित्ताको निरन्तर भेला भए पनि दुई अध्यक्षको तहमा भने सहमति जुट्न सकेको छैन । बालुवाटारमा हुने भनिएको बैठक पुनः स्थगित गर्ने प्रस्ताव पनि तयारी गरिएको छ । यद्यपि उक्त प्रस्तावको भने कार्यान्वयन गर्न प्रचण्डले मानेका छैनन् । आजको बैठक विगतमा जस्तै अन्तिम समयमा स्थगित हुनसक्ने सम्भावना रहेको स्रोतको दाबी छ।

बैठकको पूर्वार्द्धमा महासचिव बिष्णु पौडेलसहितका नेताहरूले पार्टी विभाजन रोक्न हिजो रातिदेखि आज बिहानसम्म निकै दौडधुप गरेका छन् । स्थायी समिति बैठक बसेरमा अध्यक्ष तथा प्रधानमन्त्रीलाई एउटा पद रोजी पार्टी बिधि–अनुशासनको सम्मान गर्न निर्देशन दिने र केन्द्रीय कमिटी बैठकको तिथि तोक्ने प्रचण्ड–नेपाल खेमाको तयारी रहेको छ । तर अर्को पक्ष बैठकलाई स्थगित गराउने वा बैठकमै सहभागी नहुने सम्भावना पनि उत्तिकै देखिएको छ । यद्यपि बैठकअघि दुई अध्यक्ष भेट्ने र विवादमा सहमति खोज्न सक्ने सम्भावना रहेको छ । तर आकर्षक प्रस्ताव आएमा अध्यक्ष प्रचण्ड फेरि पग्लिनुभयो भने के गर्ने भन्नेमा माधव–खनाल पक्षलाई अहिले चिन्ता उत्पन्न भएको छ । एक्लाएक्लै र समूहगतरूपमा दुबै तर्फबाट यथासम्भव सबै स्थायी समिति सदस्य, मन्त्री, मुख्यमन्त्री, सांसदहरुसँग विकसित घटनाक्रमको विषयमा छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीले कुनै पनि पद नछाड्ने बरु परिस्थितिको सामना गर्ने र छोड्न परे महाधिवेशनबाट छोड्ने अडान राखिरहेका छन् भने अर्को पक्षले अब डेडलकको स्थिति लम्ब्याइरहेर फाइदा नहुने निश्कर्षसहित एक पद छोड्न अनुरोध गर्ने निचोड निकालेको बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *