बाजुरामा बाढी पहिरोको वितण्डा, विभिन्न बस्ती विस्थापित

बाजुरा । मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ ।
बाढी र पहिरोले ठूलो क्षति भएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ ।

बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन् । पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले घटनास्थलबाटै जानकारी दिनुभएको छ ।

अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरु चर्केपछि विस्थापित भएका छन् । अहिले उनीहरु सबै छिमेकीको घरमा ओत लागेका छन् । पहिरोले दुवै गाउँ जोखिममा छन् । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनास्थलमा पुगेर सोमबार दिउँसो स्थलगत अनुगमन गरेको थियो । बाढीपहिरोका कारण साँफे–मार्तडी सडकखण्डकै सदरमुकाम मार्तडीबाट पानी नाउला, ताप्रिसेरासम्म सडक क्षति भएको छ । सडकको ठाउँठाउँमा पहिरो आएको छ भने कतिपय स्थानमा सडक पूर्णरूपमा क्षति भएको छ ।

बाढीपहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन् । विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभएको छ । त्यस्तै गाउँपालिका–४ को गदाडा, ओस्तिबाडा–१ को दुर्गाली, माडीलगायतका वडामा पनि बाढीपहिरोले क्षति पु¥याएको छ । उनीहरु सबैलाई गाउँपालिकाले राहत उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनेको छ ।

३२ परिवार जोखिममा

यता बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का ३२ परिवार विस्थापितको उच्च जोखिममा परेका छन् । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण घरको चारैतिरबाट पहिरो बग्न थालेपछि वडाका नाइना, मैतोला, लम्मेलासहितका टोल उच्च जोखिममा परेको वडाध्यक्ष कुम्भनाथ योगीले जानकारी दिनुभयो ।

मैतोलाका बुदे गुयाल, कर्ण गुयाल, चन्द्र गुयाल, सुरेन्द्र गुयाल, अङ्ग गुयाल, दीपक गुयाल, नन्दे गुयाल, केशव गुयाल, विर्कजङ्गी धामी, वीरजित धामी, मङ्गल धामी, माने गुयालसहितका परिवारको घर जोखिममा छन् । यस्तै नाइनाका माडीखोलाका नन्द विष्ट, धिरु विष्ट, पाउनु विष्ट, हर्क विष्ट, कृष्ण नेपाली, बिर्ज पाध्याय, माने सार्की, चन्द्र सार्की र सिद्ध गन्दर्भको घर पहिरोको जोखिममा परेका छन् ।

वडाध्यक्ष योगीका अनुसार मैतोलावासीले उपयोग गर्दै आएको चाम्डेबगर लघु जलविद्युत् आयोजनाको नहर भत्किएर क्षति पुगेको छ । नहर भत्किँदा विद्युत् बन्द भएको छ भने सिङ्गो गाउँ अँध्यारोमा बस्न बाध्य छ । यस्तै पारी बगर भन्ने स्थानमा धानखेत पनि बाढीले बगाएर क्षति पु¥याएको छ । वडाभित्रकै जाल्पादेवी माविको भवनसमेत जोखिममा छ । अध्यक्ष योगीसहितको टोलीले क्षतिको विवरण सङ्कलन तथा अवस्थाबारे अध्ययन गर्ने काम पनि गरिरहेको छ । खप्तड छेडेदह गाउँपालिका–७ मा पनि बाढी पहिरोले क्षति पु¥याएको छ भने दशरथ बढालेक आधारभूत विद्यालयको भवनसमेत भत्किने खतरा बढेको वडाध्यक्ष खगेन्द्र रावतले बताउनुभएको छ ।

कँुडीको सिङ्गो गाउँ पहिरोको जोखिममा

बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्लो कुँडीको सिङ्गो गाउँ पहिरोको उच्च जोखिममा परेको छ । चारैतिरबाट पहिरो बग्न थालेपछि कुँडीमा बसोबास गर्ने ११६ बढी परिवार उच्च जोखिममा परेका हुन् । सोही स्थानमा दुई वर्ष पहिले विसं २०७५ भदौमा पनि पहिरो गएको थियो । पहिरोबाट एक जनाको मृत्यु र एक दर्जन परिवार विस्थापित बनेका थिए । यो वर्ष पनि सिङ्गो गाउँको चारैतिरबाट पहिरो बग्न थालेको छ । जोखिममा रहेका ११६ बढी परिवारको तत्काल उठीबासको चिन्ता बढेको स्थानीय मनबहादुर विकले जानकारी दिनुभएको छ ।

जनप्रतिनिधिको टोली बाढी प्रभावित क्षेत्रमा पुग्यो

जिल्लाको बूढीगङ्गा नगरपालिकामा बाढीपहिरोले पारेको क्षतिबारे नगरप्रमुख दीपकविक्रम शाह र उपप्रमुख तारा खातीसहितको टोलीले जानकारी लिएको छ । बाढी प्रभावित बनेको क्षेत्रमा नगरप्रमुख शाह, उपप्रमुख खाती, वडा नं २ का अध्यक्ष हीरालाल थापा, ३ का अध्यक्ष खड्क अधिकारीसहितको टोली पुगेर जानकारी लिएको हो ।

यस्तै प्रमुख जिल्ला अधिकारी गैरेसहितको टोलीले पनि सोमबार दिउँसो घटनास्थलको प्रत्यक्ष अनुगमन गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गैरेसहित प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराई। सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिलगायतले अवस्थाबारे जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *