व्यक्ति फरक, शक्ति प्रयोगको ढाँचा, प्रवृत्ति र शैली उही

काठमाडौँ । आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समुदाय बीचको झडपमा प्रहरीको गोलीले एक जनाको मृत्यु भएको छ भने अरु ९ जनालाई गोली लागेको छ । सुनसरीसहित आसपासका जिल्ला अशान्त भएका छन् । सुनसरीमा कफ्यू त हटाइको छ । तर त्रास भने उस्तै छ । स्थिति यस्तो आयो कि प्रदर्शन नियन्त्रण गर्न सेना ने परिचालन गर्नुपर्यो । अनि सरकारले प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखलाई त्यहाँबाट हटाएर अरुलाई जिम्मेवारी दिएको छ । त्यस्तै घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । यसअघिका सरकारका पालामा यस्ता घटना भइरहन्थे । तर जेनजी विद्रोहपछि भएको निर्वाचनबाट बनेको सरकारका पालमा किन यस्तो घटना भयो त ? घटनापछि सरकारमाथि प्रश्न उठेका छन् । कतिपयले गृहमन्त्रीको राजीनामा मागे छन् त कतिपयले सरकार असफल भएको निष्कर्ष निकालेका छन् । अनि कतिपयले चाहिँ भदौ २३ को घटना र सुनसरीको घटनामा के फरक छ ? भन्दै प्रश्न उठाएका छन् ।

जेनजी अगुवा तनुजा पाण्डेले यही प्रश्न उठाएकी छन् । उनी भन्छिन्, ‘गृहमन्त्री सुदन गुरुङज्यू, हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गयो र दर्जानौँ घाइते भए, यसको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने ? भदौ २३ मा संसद भवनअगाडि अकारण गोली चलाउने घटना होस् या हिजो राति सुनसरीमा नागरिकको ज्यान लिने काम, यी दुवै घटना राज्यसत्ताको एउटै दमनकारी मानसिकताका उपज हुन् । नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व बोकेको गृह प्रशासनको नेतृत्वमा तपाईं हुनुहुन्छ, तर स्थिति नियन्त्रणमा लिन अन्य उपायहरू हुँदाहुँदै सीधै गोली ठोक्ने अवस्था आउनुले तपाईंको गृह प्रशासन र कमाण्ड एण्ड कन्ट्रोल पूर्ण रूपमा असफल भएको प्रस्ट पार्छ ।’

अधिकांशले सरकारमाथि नै प्रश्न उठाएका छन् । कांग्रेस सभापति गगन थापाले सुरक्षा निकायका प्रमुख सरुवा गरेर नउम्किन सरकारलाई चेतावनी दिएका छन् । उनले घटनाको स्वतन्त्र छानबिनको माग गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पनि घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । उसले सरकारको रवैयाका कारण घटना घटेको आरोप लगाएको छ । यता नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले यस घटनामा गृहमन्त्रीमाथि नै छानबिनको माग गरेका छन् । उनी भन्छन्, ‘सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । सामान्य विवादलाई साम्प्रादायिक र धार्मिक बनाउन निर्दोष युवालाई गोली हानी हत्या गर्ने, कम्मरमाथि ताकीताकी गोली हान्ने गृहमन्त्रीदेखि गृहप्रशासन सबैमाथि छानबिन हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसलाई भूराजनीतिसँग पनि जोडेर हेरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘सुनसरीको देवानगंजमा एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना हो । अहिलेको वैज्ञानिक युग, बदलिँदो भूराजनीति र नेपालमा भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा जेनजी विद्रोहपछि नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले यस्ता अवान्छित र हानिकारक घटना हुन दिन उच्च विवेक र संयमको प्रयोग गरौं ! स्मरण रहोस्, अब हामी कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थीरताको भूमरीमा फसाइराख्ने छुट छैन। आगामी दिन अझै चुनौतिपूर्ण हुनसक्छन् ! हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन ।’

वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईँले शक्ति प्रयोगको ढाँचा, प्रवृत्ति र शैली उही देखिएको टिप्पणी गरेका छन् । उनी सामाजिक संजालमा लेख्छन्, ‘शक्ति प्रयोगको ढाँचा, प्रवृत्ति र शैली उही देखिन्छ। सुनसरी गोलीकाण्डको स्वतन्त्र अनुसन्धान होस्। यो शक्ति प्रयोग आवश्यक र समानुपातिक थियो भनेर निष्कर्ष निकाल्न सकिने अवस्था देखिँदैन। घटनालाई ढाकछोप गर्ने वा राजनीतिकरण गर्ने प्रयास नहोस्। साथै, धार्मिक समुदायहरूबीचको सद्भाव, आपसी सम्मान र सामाजिक एकता कायम राख्न सबै पक्षबाट हरसम्भव प्रयास होस्।’

देश नियन्त्रित अस्थिरताको चंगुलमाः डा. युवराज संग्रौला

देश नियन्त्रित अस्थिरताको चंगुलमा छ । यो देशका नागरिकहरुको एउटा जत्था ‘जात क्षेत्र लिङ्ग धर्म“ अनेक नाममा आफूलाई विभाजित गर्दै ‘आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने दाउ हेरिरहेको छ ।
१. जेनजी आन्दोलन र हिजो सुनसरीको घटनामा ‘छातीमा टाउकोमा गोली लागेको अवस्था छ।’ के हो समस्या ? सुरक्षा विश्लेषणको संस्कृति कतै छैन ।

. देशलाई गम्भीर संकटमा ठेल्ने खेल त भैरहेको छैन । सुनसरीमा कसले भिडायो दुई समुहलाई ? देशका सचेत मानिसले सोच्ने समय आइसक्यो जस्तो छ। सुतुरमुर्ग नबनौं । देशमा समृद्धिको आशा हरायो भने, मानिसले अन्धविश्वासको घर बनाउँछ । वैज्ञानिक चेतनाको अभावमा मानिसले ठिक बेठिक जान्दैन । तब गरिबले आफ्नो मालिकलाई बचाउन आफ्नै वर्गको गरिबलाई अन्यायी बनाउँछ । धर्मका नाममा आफ्नो सहधर्मी अपराधीका लागि पृथकधर्मी सन्तको हत्या गर्छ। आफ्नो दलको भ्रष्ट जोगाउन अर्को दलको भद्र मानिसको मर्यादा कुल्चिन्छ । आफ्नो जातको अनैतिक मान्छे जोगाउन अर्को जातको भद्र मानिस मार्छ । यी असभ्य व्यवहार निरास समाजमा हुन्छन् र निरासा समृद्धिको सपना मरेको समाजमा हुर्किन्छ।

भदौ २३ र २४ को घटना हुँदा केपी ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री थिए । त्यही पदमा भएकै कारण बालेन नेतृत्वको सरकारले ओली र लेखकलाई जेनजी आन्दोलन दमन गरेको भन्दै सरकार गठनको दिन निर्णय गरेर भोलिपल्ट पक्राउ गर्यो । हिजो ओली र लेखक पदमा हुँदा घटना भएको थियो र पक्राउ परे । आज बोलन प्रधानमन्त्री र सुदन गुरुङ गृहमन्त्री छन् । घटना उस्तै छ । भदौमा बानेश्वरमा घटना भएको थियो, अहिले सुनसरीमा । त्यत्ति फरक हो ठाउँ मात्र । शक्ति प्रयोगको ढाँचा, प्रवृत्ति र शैली उही छ । कुर्सीमा हिजो ओली र लेखक थिए, आज बालेन र सुदन छन् । तर सरकार सीडिओ र जिल्लाका सुरक्षा प्रमुखलाई हटाएर मौन बसेको छ । सरकारमाथि नैतिक प्रश्न छ, जेनजी आन्दोलनमा दमन गरेको आरोप ओली र लेखकमाथि लाग्दा अहिलेकालाई चाहिँ लाग्ने कि नलाग्ने त ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *