तनहुँमा ६ चितुवा मरे, ८ को जिवितै उद्धार

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०७६/७७ मा तनहुँका विभिन्न स्थानमा एक बच्चासहित ६ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ ।

जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक/एक रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

चितुवाको आक्रमणमा ६ को मृत्यु

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी छ बालबालिकाको मृत्यु भएको छ । सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक गरी छ जनाको मृत्यु भएको हो । चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइतेकाे सफल उपचार गरिएकाे थियाे ।

नेपाल सरकारले चितुवाबाट मृतकका परिवारलाई रु १० लाखका दरले र घाइतेलाई रु दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो ।

चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले जानकारी दिए । वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उनले बताए । चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *