गुल्मीमा पिसिआर परीक्षणका लागि मन्त्री ज्ञवालीद्वारा मेशिन हस्तान्तरण

गुल्मी । गुल्मीमा कोरोनाको पिसिआर परीक्षण सुरु हुने भएको छ । परीक्षणका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज मेशिन हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक कार्यक्रम गरी रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल समक्ष मेशिन हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानाएको छ ।

मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले तुलनात्मकरुपमा नेपालले कोरोना विरुद्धको लडाइँमा राम्रो सफलता प्राप्त गरेको बताएका छन् । खुल्ला सिमाना र लकडाउनकै बीच भारतबाट ठूलो संख्यामा नागरिक स्वदेश भित्रिएको र आवश्यक समन्वय र स्वास्थ्य परीक्षणलगायतका न्यूनतम मापदण्ड पुरा गर्न नसकिएका कारण संक्रमण बढेको बताउँदै मन्त्री ज्ञवालीले दक्षिण एसियामा नेपालको परीक्षण दर राम्रो रहेको जिकिर गरेका छन । मन्त्री ज्ञवालिले स्वास्थ्य सम्बन्धी प्रोटोकलको मापदण्ड पुरा गर्न सबै नागरिकलाई आग्रह समेत गरेका छन ।

जिल्लाबाट स्वाब सङ्कलन गरी पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले प्रयोगशाला र ५० शैयाको आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको थियो । पिसिआर परीक्षण मेशिन हिमालय एयरलाइन्सले सहयोग गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *