नयाँ पेट्रोलपम्प खोल्न परेका एक हजार आवेदन रद्द

काठमाडौँ । नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि प्राप्त १ हजार २५ मध्ये धेरैजसो निवेदन हाल पेट्रोल पम्प भई रहेकै ठाउँमा परेकाले यथास्थितिमा नयाँ बिक्रेता नियुक्त गर्दा उपयुक्त नदेखिएको बताइएको छ । जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सड़क घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको छ ।

करिब दुई हप्ताअगाडि बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ बिक्रेताका लागि प्राप्त आवेदन रद्द गर्ने निर्णय गरेको हो । निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७६ वैशाख १७ गते र २०७६ भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा मुलुकभरबाट एक हजार २५ आवेदन प्राप्त भएका थिए ।

निगमले आवेदन रद्द भएकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क फिर्ता लैजान अनुरोध गरेको छ । निगमले आगामी दिनमा साधारण बिक्रेता नियुक्ति प्रक्रियालाई समयसापेक्ष तथा थप व्यवस्थित बनाउने पनि जनाएको छ । जिल्लागत, स्थलगत, स्थानीय तहगत र राजमार्गगतरुपमा निगमलाई आवश्यक थप बिक्रेताको सङ्ख्या यकिन गरिने निगमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *