मृत्युको नाटक गरेर बेपत्ता भएका बलात्कार आरोपी एक वर्षपछि पक्राउ

आफ्नो मृत्यु भएको मिथ्या सूचना फैलाएको ठानिएका एक फरार अमेरिकी नागरिक ग्लास्गोस्थित एउटा अस्पतालमा पक्राउ परेका छन् । ३४ वर्षीय निकोलस रोसीलाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले खोजिरहेको थियो । उनीविरुद्ध संयुक्त राज्य अमेरिकाको यूटामा बलात्कारको मुद्दा छ ।

कोभिड–१९ को सङ्क्रमण भएपछि उनी गत डिसेम्बरमा क्वीन एलिजाबेथ यूनिभर्सिटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ उनले छद्म नाम ’आर्थर नाइट’ प्रयोग गरेका थिए । स्कटल्यान्ड प्रहरीले निकोलसलाई अन्तर्राष्ट्रिय पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको जनाएको छ । अमेरिकी अधिकारीहरूले रोसीलाई रोड आइल्यान्ड राज्यमा निकोलस एलाभर्डियन भन्ने नामले चिनिने पुष्टि गरेका छन्। त्यहाँ उनी स्थानीय राजनीतिमा संलग्न थिए र राज्यको बाल कल्याण प्रणालीको समीक्षा गर्थे ।

सन् २०१९ को डिसेम्बरमा उनले अमेरिकी सञ्चारमाध्यमसँग आफूलाई अन्तिम चरणको क्यान्सर भएको र केही सातामै आफ्नो मृत्यु हुने बताएका थिए। सन् २०२० को फेब्रुअरी महिनामा थुप्रै सञ्चारमाध्यममार्फत् उनको मृत्युको खबर सार्वजनिक भयो । अनलाइन प्रकाशित एउटा सन्देशमा उनलाई “दुई दशकसम्म अग्रपङ्क्तिमा रहेर बालबालिकाको अधिकारका लागि लड्ने योद्धा” को सङ्ज्ञा दिइएको थियो।

साथै उनको खरानी समुद्रमा विसर्जन गरिएको बताइएको थियो । तिनै रोसी ग्लास्गोस्थित अस्पतालको सघन उपचार विभागको भेन्टिलेटरमा भेटिएको बताइएको छ । स्वास्थ्यकर्मीहरूलाई उनी इन्टरपोलको रातो सूचीमा रहेको जानकारी थिएन ।

उनी गत डिसेम्बर १३ मा अस्पतालबाट पक्राउ परे । अमेरिका सुपर्दगी गर्ने प्रक्रियामा उनलाई अस्पतालबाट भिडिओ लिङ्कमार्फत् न्यायिक निकायमक्ष पेस गरिएको स्कटल्यान्डको आपराधिक घटनाको अभियोग प्रक्रिया अघि बढाउने ‘क्राउन अफिस’ले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *