टाेकियाे । जापानको अन्तरिक्ष निकायले पुनः प्रयोग गर्न मिल्ने प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । अन्तरिक्ष प्रक्षेपण लागत घटाउने र विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बन्ने लक्ष्यसहित जापानले यो प्रविधिको विकास अघि बढाएको हो ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) को उत्तर–पूर्वी जापानस्थित नोशिरो परीक्षण केन्द्रमा शनिबार गरिएको परीक्षणका क्रममा ‘आरभी–एक्स’ रकेटले एक मिनेटभन्दा कम समयको उडान भरेको थियो । परीक्षणका क्रममा रकेट केही समय हावामा स्थिर रह्यो, तेर्सो दिशामा अघि बढ्यो र सुरक्षित रूपमा अवतरण गरेको जेएएक्सएले जनाएको छ ।
जेएएक्सएका पुनः प्रयोगयोग्य रकेट परियोजना प्रमुख ताकाशी इतोका अनुसार रकेटले परीक्षणका क्रममा योजनाअनुसार प्रदर्शन गरेको थियो । रकेटले करिब ११ मिटर उचाइ हासिल गर्दै अवतरण गर्नुअघि ठाडो अवस्थामा १६ मिटर तेर्सो दूरी तय गरेको थियो ।
अमेरिकी कम्पनी स्पेसएक्सले पुनः प्रयोगयोग्य रकेट प्रविधिको प्रयोगमार्फत अन्तरिक्ष प्रक्षेपण लागत घटाउँदै आएको अवस्थामा जापानले पनि सोही प्रविधिमा आधारित क्षमता विकास गर्न खोजिरहेको छ ।
यो परीक्षण जापानको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण कदम मानिएको छ । यसले हाल प्रयोग भइरहेको एकपटक मात्र प्रयोग गर्न मिल्ने एच–३ रकेटको तुलनामा कम लागतमा प्रक्षेपण सेवा विकास गर्ने लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीनले आफ्नो रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको घोषणा गरेको भोलिपल्टै जापानले यो परीक्षण गरेको हो । जेएएक्सए र मित्सुबिसी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरिरहेको आरभी–एक्स रकेटमा सुधारिएको टिकाउ इन्जिन र अवतरणका क्रममा हुने धक्का सहन सक्ने चारवटा ल्यान्डिङ गियर जडान गरिएको छ । रकेटको व्यास एक दशमलव आठ मिटर र लम्बाइ सात दशमलव तीन मिटर रहेको छ ।
परियोजना प्रमुख इतोका अनुसार उक्त इन्जिनले हालसम्म १६५ पटक दहन परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ । जेएएक्सएले फ्रान्स र जर्मनीसँगको सहकार्यमा पुनः प्रयोगयोग्य रकेट विकास गरिरहेको छ । आगामी परीक्षणहरूमा आरभी–एक्सलाई करिब १०० मिटर उचाइसम्म पुर्याउने योजना रहेको पनि जेएएक्सएले जनाएको छ ।
जापानी सरकारले अन्तरिक्ष ढुवानी क्षमतालाई राष्ट्रिय अन्तरिक्ष कार्यक्रम र सुरक्षाका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानेको छ ।
