काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ गरेको छ । सवारीसाधनलगायत विभिन्न विलासिताका सामग्री, सौन्दर्य प्रशोधनका सामग्रीमा कडाइ गरेको राष्ट्र बैङ्कले विभिन्न खाद्य पदार्थ तथा पेय पदार्थको आयातलाई पनि कडाइ गर्दै त्यस्ता सामग्रीको आयात गर्नु पूर्वस्वीकृति आवश्यक पर्नेगरी एकीकृत परिपत्र जारी गरेको छ ।
राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०७८ मा विभिन्न १६ वटा बुँदामा उल्लेख भएका खाद्य तथा पेय पदार्थको आयातमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैङ्कले खाद्यान्न र अन्न तथा यसबाट तयार भएका खाद्य पदार्थ, प्रशोधित तथा अप्रशोधित तेल, घिउ, दूध तथा दूधजन्य पदार्थ, फलफूल तथा तरकारीजन्य उत्पादन आयात गर्दा पूर्वस्वीकृतिको आवश्यक पर्ने जनाएको छ । त्यस्तै फ्रोजन तथा प्रशोधित माछा, मासु तथा यसका उत्पादन, दलहन, गेडागुडी, तेलहन, बदाम, ओखर, काजु, पेस्ताजस्ता खाद्य नट्समा पनि यस्तो व्यवस्था गरको छ ।
पिउने पानी, विशेष उपयोगका खाद्य पदार्थ, शिशु आहार तथा शिशु फर्मुला खाद्य पदार्थ, बाल आधार तथा बाल फर्मुला खाद्य पदार्थ शिशु तथा बाल आहारपूरक खाद्य पदार्थ, फुड सप्लिमेन्ट, डाइटरी सप्लिमेन्ट, न्युट्रिसनल सप्लिमेन्टको आयातलाई पनि पूर्वस्वीकृति चाहिने भएको छ ।
विभिन्न पेय पदार्थ, चकलेट, चुइङगम, टफी, कोको पदार्थ, पापड भुजिया, फिङगचिप्स, दालमोठ, मिठाई, सोनपापडी काँचो तथा तयारी स्न्याक्स फुड्स खाद्यवस्तुका लागि पनि पूर्वस्वीकृति आवश्यक पर्ने विभागले जनाएको छ ।
मसला, चिया, कफी, नुन, अण्डा तथा अण्डाजन्य खाद्य पदार्थ खाद्यरङ, वासना, इमल्सिफायर, एन्टिअक्सिडेन्ट, खाद्य तथा पेय पदार्थमा प्रयोग हुने खाद्य उद्योगका अन्य सामग्री, चिनी, महलगायतका गुलियो पदार्थ अन्य विभिन्न अप्रशोधित, अर्धप्रशोधित तथा प्रशोधित खाद्य पदार्थको आयातमा कडाइ गर्दै आयातका लागि स्वीकृति आवश्यक पर्ने .आजको गोरखापत्र दैनिकमा खवर छ ।