स्याङजा । आइसोलेसनमा कोरोना संक्रमितको संख्या घट्दै गएका बेला स्याङ्जामा फेरि कोरोना संक्रमित थपिएका छन् र थपिएकामध्ये अधिकांश समूहमा बसेर तास खेल्ने जुवाडेहरु छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा आइतबार बिहान एकै पटक २२ जना कोरोना संक्रमित पुष्टि भएको जसमध्ये १९ जना तास खेल्नेहरु छन् । भारत र मलेसियाबाट आएर क्वारेन्टाइनमा बसेका दुईजना र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिएका छन् ।
यसैसाता प्रहरीले छुट्टाछुट्टै खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका २२ युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो । तीमध्ये ३ जनामा भने कोरोना संक्रमण नेगेटिभ देखिएको बताइएको छ ।
योसँगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ। आइसोलेसनमा बस्नेको संख्या घटेर ५ जना पुगेका बेला आइतवार बिहान २२ जना थपिएसँगै २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए । कोरोनाका कारण २ जनाको भने मृत्यु भएको छ भने ३ सय ८ जनाले कोरोना जितेर घर फर्केका छन् ।