एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तरीम प्रशिक्षकको रुपमा राल्फ राङ्निकलाई नियुक्त गरेको छ । युनाइटेडले सोमबार सिजनको अन्तिमसम्मको लागि राल्फलाई अन्तरीम प्रशिक्षकको रुपमा नियुक्त गरेको जनाएको हो ।
युनाइटेडले आठ दिन अगाडि वाटफोर्डसँगको खेलमा ४-१ गोलको लज्जास्पद हार बेहोरेपछि क्लबका लेजेन्ड ओले गनर सोल्सारलाई मुख्य प्रशिक्षकको पदबाट बर्खास्त गरेको थियो । त्यसपछिको दुई खेलमा माइकल क्यारिकले पद समालेका थिए । उनको प्रशिक्षणमा युनाइटेडले भिल्लारियललाई २-० गोलले हराएको थियो भने आइतबार चेल्सीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
ओलेलाई बर्खास्तपछि रिक्त रहेको मुख्य प्रशिक्षकको पदमा युनाइटेडले राल्फलाई अन्तरीम प्रशिक्षकको रुपमा भित्र्याएको हो । राल्फले सिजको अन्तिमसम्म टोलीलाई प्रशिक्षण दिनेछन् भने त्यसपछि दुई वर्ष क्लबको सल्लाहकारको रुपमा काम गर्नेछन् ।
६३ वर्षिय राल्फले जर्मन फूटबलमा राम्रो छाप छोडेका छन् । उनको बारेमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र लिभरपुलका प्रशिक्षक जोर्गन क्लोपलेपनि राम्रो तरिफ गरेका थिए । उनले हालसम्म स्टुट्टगार्ट, हन्नोभर, होफेन्हाम, साल्के र आरबी लेइपजिगलाई प्रशिक्षण दिइसकेका छ्न् । उनले सन् २०११ मा साल्केबाट जर्मन कपको उपाधि जितेका थिए भने २०१९ मा लेइपजिगलाई फाइनलसम्म पुर्याएका थिए ।