एजेन्सी । इङ्लिस क्लब चेल्सी युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा इटालियन क्लब युभेन्टसलाई ४-० गोलले हराउँदै चेल्सीले नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ट्रेभो चालोबाह, रिक जेम्स, कालुम हुड्सन ओडि र टिमो वेर्नरले समान १/१ गोल गरे । खेलको २५ औं मिनेटमा रुडिगरको पासमा चालोबाहले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । ५५ औं मिनेटमा रिक जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
५८ औं मिनेटमा रुबिन लोफ्टुस चेकको पासमा हुड्सन ओडिले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै अतिरिक्त समयको पाँचौ मिनेटमा जियाचको पासमा वेर्नरले गोल गर्दै चेल्सीलाई ४-० गोलको जित दिलाए ।
जितसँगै चेल्सी ५ खेलबाट १२ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । पराजित युभेन्टस समान अङ्कको साथ दोस्रो स्थानमा छ ।