नेपाललाई विद्युतीय बस बेच्न ३४ चिनियाँ कम्पनीको रुचि

काठमाडौँ । नेपाल सरकारलाई विद्युतीय बस बिक्री गर्नका लागि ३४ वटा चिनियाँ कम्पनीहरूले रुचि देखाएका छन् । नेपाल सरकारले सार्वजनिक यातायातका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेपछि ३४ वटा चिनियाँ कम्पनी र आपूर्तिकर्ताहरूले चासो देखाएका हुन् ।

सरकारले काठमाडौं उपत्यका र लामो दुरीको सार्वजनिक यातायातका लागि विद्युतीय बस प्रयोग गर्ने योजना बनाएको छ । गत जुनमा विद्युतीय बस निर्माता र आपूर्तिकर्तासँग आपूर्ति गर्न सक्ने विद्युतीय बसबारे नेपालले प्राविधिक विवरण माग गरेको थियो । नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ८० प्रतिशतभन्दा बढी चिनियाँ निर्माता वा आपूर्तिकर्ताले विवरण पेश गरेका छन् ।

कुल ४१ विद्युतीय बस निर्माता वा उनीहरूका एजेन्टहरूले विवरण पेस गरेका छन् । मन्त्रालयका अनुसार तीमध्ये ३४ कम्पनी चिनियाँ निर्माता तथा आपूर्तिकर्ता छन् । बाँकी कम्पनीहरू भारत, अष्ट्रेलिया र मलेसियाका छन् ।

‘चीनले विद्युतीय सवारी साधनमा अगाडि बढ्दै जाँदा ठूलो संख्यामा चिनियाँ कम्पनीले विद्युतीय सवारी आपूर्ति गर्न चासो देखाउनु स्वाभाविक हो,’ मन्त्रालयको यातायात व्यवस्थापन विभागका उपसचिव शंकरसिंह धामीले भने ।

सरकारले वातावरणीय मैत्री वाहन र यातायात नीति २०१४ ल्याएको थियो । सोहीअनुसार कार्बन उत्सर्जन घटाउने र सन् २०२० सम्म विद्युतीय सवारीसाधनको हिस्सा २० प्रतिशतसम्म वृद्धि गर्ने लक्ष्य सिन्ह्वा समाचार समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *