बहुदलीय जनवाद हात्तीको देखाउने दाँत मात्रै: भीम रावल

काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको महाधिवेशनको दौरान सुदूरपश्चिम प्रदेशमा गाउँ फर्कको जस्तो माथिबाट पद तोक्ने काम भएको आरोप लगाएका छन् ।

डा. रावलले भने, “महाधिवेशनका सन्दर्भमा पार्टीभित्र सदस्यता नवीकरण र प्रतिनिधि चयनमा बेथिति र मनपरी देखापरेको छ । अपानि-१२ विपरीत प्रदेश समन्वय समितिको कथित बैठक गरिएको छ । जिल्लामा हुँदै नभएका मानिसलाई सस्दयता दिइएको छ । नक्कली छाप र सूची भेटिएको छ । माथिबाट पद तोक्ने गाउँ फर्कको जस्तो काम भएका छन् ।”

एमाले उपाध्यक्ष डा. रावलले सुदूरपश्चिम प्रदेशमा तत्कालीन माले र एमालेको संगठक आफू भएको दाबी गर्दै बीचमा आएर कसैले आफूलाई नेता साबित गर्न नसक्ने प्रतिक्रिया दिए । लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म व्यक्ति विशेषको प्रतिक्रियाको पछि लाग्दिनँ । पञ्चायतकालमा सुदूरपश्चिममा तत्कालीन मालेको संगठक मै हुँ । एमालेको सिर्जनाकार, निर्माता पनि मै हुँ । बीचमा आएर कसैले म नेता हुँ भन्न मिल्छ ? अध्यक्ष केपी शर्मा ओलीले गरेको हस्ताक्षर गरेको नमान्ने ? माथिदेखि तलसम्म मनपरी गर्ने ? के बहुदलीय जनवाद हात्तीको देखाउने दाँत मात्र हो ?”

महाधिवेशनमा उम्मेदवारीबारे स्थायी र केन्द्रीय कमिटीमा छलफल नभएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *