कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन् । गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन् ।
आज बिहान करिब ११ः३० बजे बाल्टिनबाट निकालेर तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड पुर्याइएका बालकलाई चिकित्सकले दिउँसो करिब १२ः३० बजे मृत घोषणा गरेका थिए ।
प्रहरी निरीक्षक जोशीका अनुसार बालकको शव शवपरीक्षणका लागि दोधरा अस्पताल, बौनिया पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
