प्रधानमन्त्री कर्णाली र सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा

कर्णाली । बाढीपहिरोले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार सुर्खेत विमानस्थलमा बाढीपहिरोले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिए । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्याएकोमा आफू दुःखी बनेको बताए ।

“मौसमविद्ले जलवायु परिवर्तनका कारण ठूलो महाविपत्तिले क्षति पुगेको भनिरहेका छन्,” उनले भने, “सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पुर्याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउदछौं ।”

आइतबारदेखि परेको अविरल वर्षाका कारण कर्णालीमा बाढीपहिरामा परी आठ जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका छन् ।

नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरका सहायकरथी योगराज शर्माले प्रधानमन्त्रीलाई बाढीपहिराले पुर्याएको क्षतिबारे जानकारी गराए । सो अवसरमा प्रधानमन्त्रीलाई कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांगे्रस महामन्त्री पूर्णबहादुर खड्का लगायतसँग विमानस्थलमा स्वागत भेट गरेका थिए ।

प्रधानमन्त्री देउवा कर्णालीपछि सुदूपश्चिम जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *