सुरक्षा थ्रेट भएका जति सबैलाई प्रहरी हिरासतमा राखेर सुरक्षा दिने नयाँ रणनीति आएको हो ?

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति निवासबाट पक्राउ गर्यो । जबरा पक्राउ परेको खबर आइतबार बिहानैदेखि संचारमाध्यममा छायो । प्रहरी उच्च श्रोतको हवाला दिँदै जबरा पक्राउ परेको खबर आए । उनी पक्राउलाई लिएर विभिन्न आशंका पनि गरिए । किनकी उनीमाथि महाभियोग लागेको थियो(तर प्रस्ताव पारित भएन) । त्यस्तै, उनले पदमा रहेका बेला आफ्ना मान्छेलाई मन्त्री बनाउन लगाएका थिए । त्यसैले उनी विवादित पनि थिए । तर जबरा किन पक्राउ परे त ? सबैको खोजीको विषय बन्यो । त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालले जबराकै सुरक्षाका लागि उनलाई राति घरबाट लगिएको दाबी गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको दाबी गरेका छन् । मध्यराति नै भौतिक रुपमा आक्रमण हुनेसम्मको सूचना आएपछि सुरक्षाका लागि ल्याइएको उनको दाबी छ । कसैलाई सुरक्षा चुनौती छ भने घरमा सुरक्षाका लागि प्रहरी जान्छ कि पक्राउ गरेर ल्याइन्छ ? प्रश्न भने उठेको छ ।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पक्राउ पुर्जी विना पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उनी सामाजिक संजालमा लेख्छन्, ‘पक्राउ पुर्जी विना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्तार ? कतै सत्तारुढ दल भित्रै पाकिरहेको खिचडीको खेल त हैन ? जेनजी खतरा भए त सुरक्षा पो दिने होला । पशुपति जाने !’

एमाले नेता सूर्य थापाले त जबराको पक्राउ  गैरन्यायिक र गुण्डाराजको अभ्यास भएको बताएका छन् ।

थापा लेख्छन्ः
गैर न्यायिक र असभ्य गुण्डाराज–
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई व्यक्तिगत रूपमा म चिन्दिनँ, आमनेसामने भएर र भेटेर कुरा भएको छैन । बालेन न्यूयोर्कबाट फर्किनासाथ उहाँ गिरफ्तार हुनुभएको भनिएको छ । किन हो ? के आरोप, उजुरी वा कसको झोसपोल र आदेशमा रातारात रहस्यमय तबरले नियन्त्रणमा लिइएको हो ? कानुनी राजमा यसरी पक्रन पाइँदैन । नागरिकलाई जानकारी नगराई मनोमानी ढंगले दुव्र्यवहारको शैलीमा पक्राउ गरिनु असभ्य, तानाशाही र गुण्डाराज हो । यसको जति निन्दा गरेपनि कम हुन्छ । प्रधानमन्त्रीको आदेशमा पक्रेर प्रहरीले किन भन्ने बताउन नसक्नु गैरन्यायिक र लाचार छाँया बन्नु हो । संविधान र कानुनबमोजिमका उत्तरदायित्व, जवाफदेही र जिम्मेवारी बहन गर्नुपर्ने भएमा कानुनी प्रक्रिया पुर्याएर मात्रै गर्न सक्नुपर्छ । यो गिरफ्तारी व्यक्ति चोलेन्द्रशमशेर राणाको मात्रै नभएर न्यायपालिका तर्साउने र आफ्नो निहीत उद्देश्यअनुरूप कज्याउने कोशिसअन्तर्गत हो भन्ने स्पष्ट छ। राज्यले छानविन गर्नुपर्ने भएमा अदालतको अनुमतिमा पक्राउ पूर्जी जारी गरी प्रक्रिया पुर्याएर मात्रै गर्नसक्छ । जरूरी पक्राउ पूर्जी नियमितजस्तो नभएर तर्कसम्मत र अपवादको अभ्यास मात्र बन्नुपर्छ । यस सम्बन्धमा के भए गरेको हो ? बालेन साह र उनको आदेशमा पाकिस्तानी मोडेलमा अपमानजनक गिरफ्तारी गर्ने निकायहरूलाई अविलम्ब सार्वजनिक जानकारी गराउन जोडदार माग गर्दछौं ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्,‘ बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासन (Rule of Law) को मर्मविपरीतको काम हो । यस्तो गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ।’ यी त भए जबरा पक्राउप्रति नेताहरुले गरेका विरोधका कुरा ।

खासमा कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो । तर प्रहरी लगाएर अपहरणको शैलीमा घरबाट उठाउने काम लोकतन्त्रमा हुनु पक्कै राम्रो कुरा होइन । जबरा जतिसुकै विवादित किन नहुन, तर कुनै पनि बहानामा पक्राउ पुर्जीसमेत नदिई मध्यारति समातिएको घटना राज्यद्वारा सञ्चालित गुन्डागर्दी जस्तै देखिएको छ, जुन कुरा माघ १९ को शाही शासनका बेला देखिन्थ्यो । अनि अर्को कुरा ल सुरक्षा दिनका लागि लगेको भए प्रहरी, सैनिक मुख्यालय थिए त किन अपराध अनुसन्धान कार्यालय लगियो ? त्यसो भए अब सुरक्षा थ्रेट भएका जति सबैलाई प्रहरी हिरासत राखेर सुरक्षा दिने नयाँ रणनीति आएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *