भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

लखनउ (भारत) । उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी र वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

यता, गत अगस्ट २६ को विनाशकारी बाढीबाट प्रभावित नेपालमा पुनः बाढी र पहिरोको नयाँ शृङ्खला सुरु भएको छ । नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् ।

वैज्ञानिकहरूले हालका वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन् । उनीहरूले यसलाई जलवायु परिवर्तन र बढ्दो तापक्रमसँग जोडेर हेरेका छन् ।

गत महिना चीन–नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको विनाशकारी बाढीमा एक हजार ४०० भन्दाबढी मानिसको मृत्यु भएको थियो भने हजारौँ बेपत्ता भएका थिए ।

उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनका बेला हरेक वर्ष भारी वर्षा र आँधीबेहरीका घटना दोहोरिने गर्छन् । अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीस्थल भागतर्फ सर्दा वर्षाको तीव्रता बढेको हो, जसका कारण अत्यधिक वर्षा भई मानवीय तथा भौतिक क्षति भएको छ ।

राज्यमा शुक्रबारदेखि आइतबारसम्म ६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ, जबकि यस अवधिको औसत वर्षा ७.६ मिलिमिटर मात्र हुने गर्दछ ।

भारी वर्षाले कृषिक्षेत्रमा व्यापक असर परेको छ । बालीनालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पुल तथा कल्भर्टमा क्षति पुगेपछि लोकप्रिय पर्यटकीय गन्तव्य ‘देवकुण्ड’ पनि अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लामो गर्मीयामपछि मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पु¥याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *