काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले आफ्नो भारत भ्रमण सरकारी नभएर पार्टीगत भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको वातावरण बनाउन भारत जान नलागेको उनले स्पष्ट पारे ।
भारतीय जनता पार्टीको निमन्त्रणामा महामन्त्री डा. प्रकाशशरण महत, अजय चौरासिया र आफू आज भारत जान लागेको उनले बताए । नेता राणाले भने, “हाम्रो भ्रमणको खास एजेन्डा केही छैन । नेपाली कांग्रेस र भाजपाको एक्सचेन्ज प्रोग्राम हो । एक महिना अघि भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले आउनुभएको थियो । त्यसकै निरन्तरता हो ।”
नेता राणाले आफूले प्रधानमन्त्रीको भन्दा पनि नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने स्पष्ट पारे । उनले भने, “हामीलाई सभापति देउवाले खटाएको भन्न मिल्छ । पार्टी टु पार्टी सम्बन्ध कायम गर्न छलफल गर्ने हो । सरकार टु सरकार वार्ता हुने होइन । तर, दुवै सत्तारुढ पार्टी भएकाले त्यसमा सरकारलाई इन्फ्लुेन्स गर्छ ।
नेपालको आर्थिक विकासका लागि केके सहयोग लिन सकिन्छ, त्यसबारे अनौपचारिक कुरा हुन्छ । हामीले ट्रेड लिंकमा कसरी सुधार गर्न सक्छौं, त्यसबारे पनि छलफल हुन सक्छ । नेपालसँग पनि उहाँहरुको अपेक्षा होलान् । फर्किसकेपछि प्रधानमन्त्रीलाई भेटेर हामीले जानकारी दिनेछौं । हाम्रो भ्रमणबारे परराष्ट्र मन्त्रालय र दूतावासलाई पनि जानकारी गराएका छौं ।”
उनले प्रधानमन्त्रीको भारत भ्रमणको कुरा मिलाउन जान नलागेको पनि स्पष्ट पारे ।
