महिला एसिया कप छनोटः आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं । एएफसी महिला एसिया कप–२०२२ छनोटअन्तर्गत आज हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

नेपाल आजको खेलमा सकारात्मक नतिजा निकाल्दै छनोटमा सुखद शुरुवातको आशामा रहेको छ । छनोटको तयारीको लागि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा २–१ गोलले विजयी भएको नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।

बंगलादेशविरुद्ध भएको दुई खेलमा टोलीको प्रदर्शनबाट सन्तुष्ट नदेखिएका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा सुधार आवश्यक रहेको जनाएका थिए । यस्तै प्रि–म्याच कन्फ्रेन्समा बोल्दै फिलिप्सले नेपाली खेलाडीको लागि यस प्रतियोगिता आफ्नो क्षमता देखाउने राम्रो अवसर रहेको बताएका थिए । यस्तै नयाँ खेलाडीको आगमनले टोली थप बलियो भएको फिलिप्सले थपे ।

यसअघि नेपालले फिलिपिन्ससँग सन् १९९९ मा खेलेको थियो । एएफसी महिला च्याम्पियनसिप अन्तर्गत भएको उक्त खेलमा नेपाल ५–० गोलले पराजित भएको थियो । समूह ’एफ’मा रहेको नेपालले दोस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एएफसी महिला एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टोलीः– अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला विक, बिमला चौधरी, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, अञ्जली तामाङ (योञ्जन), निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु र सृजना सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *