अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए । अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दावी गरे ।

उनले भने,‘अब संसद र सरकारमा हाम्रो भूमिका स्वभाविक रुपमा सत्तापक्षको रुपमा रहनेछ, किनभने हामी गठबन्धन दलको महत्वपूर्ण हिस्सा हौँ, यसर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहनेछ, सहयोगी रहनेछ, सहकार्य गर्नेछौँ, सँगै अगाडि बढ्नेछौँ, सरकारमा हामी सामेल हुनेछौँ, हामी प्रदेश, संघीय सरकारमा सामेल हुनेछौँ,एक नम्बर र ३ नम्बर सरकारको पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ, र सातै वटा सरकारमा पनि हाम्रो सहभागिता रहनेछ, प्रत्येक प्रदेशमा रहेको संसदीय दलहरुलाई त्यहाँ रहेको स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुलाई सहकार्य गर्न तयार भए सहकार्यको संस्कृति लिएर जानेछौँ, हाम्रो बिरुद्धमा गलत आरोप र भ्रम पैदा गर्छन् त्यसको हामी सशक्त खण्डन गर्नेछौँ, त्यसलाई चिर्नेछौँ।’

अध्यक्ष नेपालले एमसीसीलाई पठाएको जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताए । अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह गरे । उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *