संविधान दिवसः दीपावली गरेर तीन दिनसम्म मनाइने

काठमाडौं । सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । आगामी असोज २, ३ र ४ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ । नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली गरेर हर्षोल्लासपूर्वक दिवस मनाइने छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा मन्त्री, राज्यमन्त्री, संवैधानिक निकायका प्रमुखहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, विशिष्ट श्रेणीका अधिकृतहरू सदस्य रहेका छन् भने गृह मन्त्रालयका सचिवलाई सदस्यसचिव तोकिएको छ ।

संविधान दिवस मनाउने प्रयोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं संविधान दिवस प्रचारप्रसार समितिका संयोजक डा वैकुण्ठ अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका अवसरमा गर्नुपर्ने कार्यबारे छलफल भएको छ । उपसमिति नौ सदस्यीय छ ।

उपसमितिका अनुसार संविधान दिवसका अवसरमा नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायतका जनचेतनामूूलक कार्यक्रमको प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाइने छ ।

राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा संविधान दिवसका अवसरमा विशेषाङ्करस्मारिका प्रकाशन गर्नुका साथै संविधानको बहुआयामिक आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाको सँगालो प्रकाशन गरिने छ । नेपाल टेलिभिजन, रेडियो नेपाल एवं सामुदायिक तथा निजी क्षेत्रका अन्य सञ्चारमाध्यमबाट संविधानको महत्त्वका बारेमा कार्यक्रम प्रकाशन÷प्रसारण गराइने बताइएको छ ।

यसका साथै सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गर्नेछन् । रेडियो नेपालले नेपाली सैनिक मञ्च टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ । संविधान दिवसको मूल कार्यक्रम आगामी असोज ३ गते संविधान जारी भएको दिनमै राखिएको छ ।

असोज ४ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट संविधान दिवस–२०७८ का अवसरमा जागरण गीत प्रसारण गरिनेछ भने साँझ दीप प्रज्ज्वलन गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *