एजेन्सी । नेपाली लेगस्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको चर्चित बिग बास लिग(बिबिएल) खेल्ने भएका छन् । आगामी सिजनको लागि सन्दीपलाई होबर्ट हुरिकेन्सले भित्र्याएको हो ।
गत सिजनपनि सन्दीपले हुरिकेन्सबाटै बिबिएल खेलेका थिए । यस सिजनको लागिपनि सन्दीपले हुरिकेन्ससँग सम्झौता नवीकरण गरेको क्लबले जनाएको छ । गत सिजन सन्दीपले हुरिकेन्सबाट ८ खेल खेल्दै ८ विकेट लिएका थिए । यसअघि दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले २० खेलबाट २६ विकेट लिएका थिए ।
पछिल्लो समय सन्दीपको हातबाट लगातार विदेशी लिगहरु फुस्किरहेको थियो । चर्चित इन्डियन प्रिमियर लिग(आईपिएल) मा नबिकेका सन्दिप पाकिस्तान सुपर लिग र इंग्ल्याण्डको दुई वटा प्रतियोगिता भिसा समस्या र कोरोना महामारीले गुमाउनु परेको थियो । यस्तै सन्दिपले राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएपछि यहि आज(बिहीबार)बाट शुरु हुने क्यारेबियन प्रिमियर लिग(सीपिएल) पनि गुमाउनेछन् ।
सन्दीप हाल नेपाली टोलीसँग ओमान भ्रमणमा रहेका छन् । नेपालले ओमानमा पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपालले ओमान र अमेरिका सम्मिलित आईसीसी विश्वकप लिग- २ अन्तर्गत हुने त्रिकोणात्मक सिरिज खेल्नेछ ।