पराजय स्वीकार्छु, तर रूपान्तरणको संकल्पबाट पछि हट्दिनँ !

-अमरसिंह पुन

राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया हुन् । महामन्त्री पदको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्ने परिस्थिति बन्दै गर्दा पनि मेरो मनमा कुनै पछुतो छैन । किनकी मेरो उम्मेदवारी एउटा पद प्राप्तिका लागि मात्र थिएन; नेपाली कांग्रेसलाई बदल्ने, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने, पार्टीलाई थप व्यवस्थित र जनताको भरोसाको केन्द्र बनाउने विचारको प्रतिनिधित्व थियो ।

मलाई विश्वास गरेर आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। यस अभियानमा दिनरात नभनी खटिनुहुने, हौसला र साथ दिनुहुने तथा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको विश्वास, माया र साथ मेरा लागि कुनै पदभन्दा कम मूल्यवान छैन ।

निर्वाचनलाई गुटभन्दा माथि उठाएर विचार, योग्यता, योगदान, आवश्यकता र रूपान्तरणका एजेन्डामा केन्द्रित बनाउन सकिएन भन्ने अनुभूति अवश्य भएको छ। तर अब निराशा, असमझदारी र आरोपमा अल्झिने समय होइन। यसबाट पाठ सिक्दै पार्टीलाई बदल्ने साझा संकल्पमा एकताबद्ध हुने समय हो।

विशेष महाधिवेशनले दिएको म्यान्डेट र नेपाली कांग्रेसको रूपान्तरणको एजेन्डा १५औँ महाधिवेशनबाट अनुमोदित भएको सन्दर्भमा अब यसको कार्यान्वयन हाम्रो साझा जिम्मेवारी हो। रूपान्तरणको कुरा भाषण र नारामा मात्र सीमित हुनुहुँदैन। पार्टीको सोच, संगठन, कार्यशैली, नेतृत्व चयनको संस्कार र जनतासँगको सम्बन्धमा परिवर्तन देखिनुपर्छ।
आज म सबै साथीहरूलाई हार्दिक आग्रह गर्दछु–निर्वाचनका क्रममा बनेका दूरी र असमझदारीलाई यहीँ अन्त्य गरौँ । विजयी साथीहरूलाई बधाई दिऔँ, पराजित साथीहरूको योगदानको सम्मान गरौँ र सबैलाई समेटेर अगाडि बढौँ। पार्टीभित्र फरक विचार राख्ने साथीहरूलाई पनि सम्मान, न्याय, सहभागिता र अवसर सुनिश्चित हुनेमा विश्वस्त छु ।
नेपाली कांग्रेसभित्रको एकता कुनै बहाना, स्वार्थ, र सीमाका कारण कमजोर हुनुहुँदैन। हाम्रो एकता व्यक्तिको वरिपरि होइन, विचार, विधि, विधान र रूपान्तरणको साझा संकल्पमा आधारित हुनुपर्छ।

मेरो राजनीतिक यात्रा कुनै एउटा पदमा पुगेर समाप्त हुने यात्रा होइन। यो विचार, निष्ठा, पुस्तान्तरण, समावेशिता र रूपान्तरणका लागि निरन्तर अघि बढ्ने यात्रा हो । निर्वाचनको परिणामले मेरो जिम्मेवारी समाप्त गर्दैन। बरु, अब रूपान्तरणको अभियानलाई नयाँ सोच, नयाँ शैली र थप ऊर्जाका साथ अझ उचाइमा पुर्याउन म प्रतिबद्ध छु।
म निर्वाचनको परिणामलाई स्वीकार गर्छु, तर परिवर्तनको आवश्यकतालाई बिर्सन सक्दिनँ। पद प्राप्त नहुँदैमा विचार त्यागिँदैन, परिणाम प्रतिकूल हुँदैमा जिम्मेवारी समाप्त हुँदैन। पार्टीलाई बदल्ने हाम्रो संकल्प निरन्तर अघि बढिरहनेछ।
मलाई विश्वास गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू, अभियानमा सरिक हुने सहयात्रीहरू र शुभेच्छुकहरूप्रति पुनः हृदयदेखि आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वासलाई आफ्नो जिम्मेवारी ठानेर आगामी दिनमा अझ परिपक्व, रचनात्मक र प्रतिबद्ध भएर अघि बढ्नेछु।

विशेष महाधिवेशनको म्यान्डेट र १५औँ महाधिवेशनबाट अनुमोदित रूपान्तरणको एजेन्डालाई व्यवहारमा उतार्न र सबैको योगदानको सम्मान गर्दै नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ राजनीतिक संस्कारसहित जनताको भरोसाको पार्टी बनाउन लागि पर्नेछु । धेरै धेरै माया अनि सम्मान सबैमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *