काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । याे संख्या हालसम्मकै सबैभन्दा बढी हाे ।
काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरमा १७ जना गरी कुल २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.’जागेश्वर गौतमले जानकारी दिए । सोमबार मात्रै काठमाडाैँ उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ ।
