वैदेशिक रोजगारमा जानेलाई जोन्सनको खोप दिन आग्रह

काठमाडौं। वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवस्तरीय निर्णय गर्दै विभागले बुधबार विदेश जानेलाई खोपको व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्न सीसीएमसीलाई पत्रमार्फत आग्रह गरेको हो । सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सन एन्ड जोन्सनको खोप दिने निर्णय गरेको थियो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिक रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर एक डोजवाला (जोन्सन एन्ड जोन्सन) उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । सरकारले गएको सोमबार मात्रै वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको छ र मङ्गलबारदेखि खोप केन्द्र तोकेर खोप दिन पनि थालिएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *