होटल क्षेत्रमा बैंकहरूको १ खर्ब ८० अर्ब कर्जा लगानी

काठमाडौं, असार २८ । कोभिडका कारण प्रभावित होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा १ खर्ब ८० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा लगानीको ४ दशमलव ४ प्रतिशत हो । यस अवधिमा बैंकहरूले क्षेत्रगत कर्जा अन्तर्गत ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालू आवको जेठ मसान्तसम्ममा होटल क्षेत्रमा २७ ओटा वाणिज्य बैंकले मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वाणिज्य बैंकको कुल कर्जा प्रवाहको ४ दशमलव ४३ प्रतिशत हो । यसैगरी १८ ओटा विकास बैंकले १५ अर्ब ४१ करोड ५० लाख र २० ओटा वित्त कम्पनीले ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार होटल तथा रेष्टुराँ शीर्षकमा वाणिज्य बैंकमध्ये प्रभु बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । सो बैंकले १४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो वाणिज्य बैंकले सो शीर्षकमा प्रवाह गरेको कुल कर्जाको ८ दशमलव ८४ प्रतिशत हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यसपटक कोभिडका कारण यस्तो क्षेत्रमा कर्जावृद्धि अझै अपेक्षित रूपमा हुन नसकेको बताए । यद्यपि पछिल्लो समय क्रमशः सुधार भइरहेको उनको भनाइ छ । ‘पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, ट्रेकिङ, एयरलाइन्स लगायत क्षेत्र कोभिडले बढी थला परे । कोभिड अवधिमा बनाउन थालेका नयाँ होटलहरूको काम पनि रोकिन पुगे, एक्सपान्सन गर्न खोजेका पुराना होटल पनि विषम परिस्थितिका कारण रोकिए । यसकारण होटल क्षेत्रमा कर्जाको माग अझै कम हुन पुग्यो,’ उनले भने, ‘तर अहिले होटलहरूले एक्सपान्सन कार्य शुरू गरेका छन्, नयाँ परियोजना पनि आउन थालेका छन्, त्यसैले आगामी दिनमा बढ्दै जान सक्छ ।’ यससँगै कोभिडको भ्याक्सिन पनि आउन थालेकाले अब यो क्षेत्रमा थप लगानी बढ्ने उनको अपेक्षा छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *