मलेशियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेशियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए ।

नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनको भनाइ छ । पाँच महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको उनले बताए । “पाँच महिनादेखि काम गर्न पाएको छैन”, श्रेष्ठले भने, “मलेशियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यो तर नियमित उडान नहुँदा महङ्गो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।”

नियमित उडानकालागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहँुदा समस्या भएको भन्दै उनले सहयोगकालागि अनुरोध गरेका छन् ।

मलेशियाबाट नेपाल आउनकालागि नियमित उडानमा ६ सयदेखि सात सय रिङ्गेट लाग्छ भने चार्टर्ड उडानमा १ हजार ५९० रिङ्गेट पर्ने उनको भनाइ छ । विमानस्थल पुग्न ६ घण्टा हिँड्नुपर्ने र त्यसको लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताए । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले रु. ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ ।

खान र बस्नकालागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए । ९ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि १ महिनायता मात्रै व्यवस्था गरेको उनीहरुको भनाइ छ ।

खानाकैलागि १ जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठ बताउँछन् । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारकालागि अनुरोध गर्नुको विकल्प नभएको उनले बताए । अब खानाकैलागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अमर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *