धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार असार पहिलो सातादेखि भारत जाने नेपालीको संख्या बढेको छ । भारतबाट नेपाल आउनेको संख्याको तीन गुणा नेपाली भारत जान थालेका छन् । शुक्रबार मात्रै भारतबाट ४३८ जना स्वदेश फर्के भने १५ सय ४ जना भारत पसेका छन् ।
असार १ गतेदेखि १८ गतेसम्मको तथ्यांकअनुसार भारतबाट नेपाल फर्किने ७ हजार ७ सय ४४ जना रहेकोमा त्यसको तीन गुणाले बढी २२ हजार ३७ जना गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत पसेका छन् । नेपालतिर खेतीपातीको काम सकिएको र भारतमा कोरोनाको पनि जोखिम कम भएको खबर आउन थालेपछि नेपालीहरू भारत जान थालेका हुन् ।
अहिले कोरोनाको तेस्रो लहर फैलिन सक्ने प्रक्षेपण भइरहेको छ । यही समयमा नेपालबाट दैनिक नेपालीहरू भारत पस्न थालेका छन् । अझ सुदूरपश्चिमको गौरा पर्व र बडादशैंका बेला यी सबै नेपाली हुल बाँधेर स्वदेश फर्किनेछन् । कोरोनाको जोखिम कायमै रहेका बेला यसरी नेपालीले भारत जानु र गौरा, दशैं–तिहारका लागि एकै पटक फर्किनुले अर्को लहर फैलिने सम्भावना रहेको चिकित्सक बताउँछन् ।
‘अहिले खतरा टरेको छैन, गम्भीर प्रकृतिका केही बिरामी घटेका मात्र हुन् । कोरोनाको जाँच नै कम भएकाले संक्रमितको संख्या कम देखिरहेको छ’, सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले भने, ‘१५ प्रतिशतभन्दा बढी नै संक्रमण छ । यो भनेको समुदायमा अझै कोरोनाको संक्रमण कायम छ भन्ने नै हो ।’
डा. कमरले भारत जानेहरूलाई रोक्न नसकिने भए पनि अब फर्किने बेला कसरी व्यवस्थापन गर्ने भन्ने तयारी अहिलेदेखि नै गरिहाल्नुपर्नेमा जोड दिए । ‘यसअघिका दुई चरणमा पनि सीमा नाकाको अस्तब्यस्तताले जटिलता आएको हो । अब पनि त्यही कुरा नदोहोरिनका लागि सीमा नाकामा भोलि फर्किने ठुलो संख्याको नेपाली समुदायका लागि ब्यवस्थापन गर्न आवश्यक देखिन्छ’, उनले भनेकाे समाचार अन्नपूर्णपाेस्ट दैनिकमा छापिएकाे छ ।
