दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

चितवन । रत्ननगर नगरपालिकाले दुई वर्ष मुनिका बच्चा छाडेर महिलालाई विदेश जानबाट रोक्ने भएको छ । नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने प्रस्ताब नगरसभाबाटै पारित गरेको हो ।

त्यसैगरी नगरसभाले सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।

नवौं नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोड रुपियाँको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।

नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया शुरु गर्ने, नगरपालिकालाई आवश्यक ऐन, कानुन बनाई पछि अनुमोदन गराउने गरी लागु गर्ने, आगामी आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, वालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ ।

आगामी आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलवी प्रतिवेदन पास गरी तलव भत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको वनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *