काठमाडौं । पेशागतरुपले उत्कृष्ट र आमनागरिकको विश्वासको रुपमा नेपाल प्रहरीले तयार पारेको नेपाल प्रहरीको कार्ययोजना–२०७७ सार्वजनिक गरिएको छ ।संविधानअनुरूप नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको मुख्य उद्देश्य रहेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आइतबार उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । साथै उनले उक्त कार्ययोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न स्थापित ‘कार्ययोजना कार्यान्वयन कक्ष’को विद्युतीय माध्यमबाट शुभारम्भसमेत गरेका थिए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरे । साथै उनले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समेत भीडियो कन्फ्रेन्समार्फत् कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्ययोजनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै १४ वटा विशेष लक्ष्य र १ सय ५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको कार्ययोजनाले आगामी दिनमा नेपाल प्रहरीलाई मार्ग निर्देशन गर्ने बताएका छन् ।