शेरबहादुर परियार
पोल्याण्ड । लक्जेमबर्गमा ३५ जना नेपालीलाई सामुहिकरूपमा एकै पटक कोरोना संक्रमण भएको र त्यसले युरोपभरि सन्त्रास फैल्याएको भन्ने समाचार भ्रामक भएको गैर आवासीय नेपाल संघ (एनआरएनए)ले जनाएको छ । केही दिनअघि विभिन्न अनलाइनहरुमा एनआरएनए आइसिसीअन्तर्गतको स्वास्थ्य समितिको हवाला दिदैँ प्रकाशित लक्जेमबर्गमा एक पारिवारिक जमघट (वैवाहिक वर्षगाँठ) मा सहभागी ३५ जना नेपालीहरु एकैपटक संक्रमित भएको र त्यसले युरोपमा रहेका नेपाली समुदायमा सन्त्रास फैलिएको भन्ने समाचार समाचार सार्वजनिक भएकाे थियाे ।
विश्वमा कोरोनाको महामारीले समस्या देखिएपछि लक्जेमबर्गमा नेपाली समुदायमा ठूलो जमघट हुने वैवाहिक वर्षगाँठ वा अन्य कुनै कार्यक्रम आयोजना नगरिएको र उक्त समाचारमा कुनै सत्यता नभएको एनआरएनए लक्जेमबर्गका प्रवक्ता बालहरि राईले स्पष्ट पारेका छन् । “कोभिड–१९ को विषम परिस्थिति र यसको असरको हेक्का यहाँ रहेका नेपाली समुदायलाई छ । तसर्थ यहाँ रहेका नेपालीका आधिकारिक संस्थाका प्रतिनिधिसँग सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन र प्रशारण गर्न अनुरोध गर्दछु,” प्रवक्ता राईले भने ।
समाचारले उल्टै सन्त्रास फैलायोः आइसिसी सदस्य
लक्जेमबर्गका लागि एनआरएनए आइसिसी सदस्य बालकृष्ण सापकोटाले लक्जेमबर्गमा ३५ जना नेपालीलाई एकैपटक कोरोनाबाट संक्रमित भएको र त्यसले सन्त्रास फैलिएको नभइ उल्टै समाचारले चाहिँ सन्त्रास फैलाएको बताएका छन् ।
“भ्रमक समाचारका कारण लक्जेमबर्गमा रहेका नेपाली समुदाय, नेपालमा रहेका उनीहरुका परिवार तथा युरोपमा रहेका इस्टमित्र सबैलाई मानसिक तनाव र सन्त्रास फैल्याएको छ,” उनले भने, “यहाँ र नेपालको समय मिल्दैन, आधा रातमा फोन र म्यासेज आएको र समाचारमा कुनै सत्यता नभएकोले चिन्ता नलिन अनुरोध गर्दागर्दै हैरान भएका छौं ।”
समाचार स्रोतको बारेमा सत्यतथ्य पत्ता लगाउन सरोकारवाला व्यक्ति र संस्थालाई अनुरोध गरिएको छ । सापकोटाले भने, “अन्य युरोपेली मुलुकमा झैं यहाँ रहेका केही नेपालीमा पनि कोरोना संक्रमण देखिएको हो तर समाचारमा आएजस्तो बिल्कुल होइन ।”
यथार्थ के हो
प्रवक्ता राईका अनुसार केही नेपालीहरु गर्मीको बिदामा मनोरञ्जनको लागि हरेक वर्ष झैं पार्कमा गएका थिए । तर सोही कार्यक्रमका सहभागी कसैलाई पनि कोरोना संक्रमणको लक्षण देखिएको थिएन । उनले भने– “कार्यक्रममा गएका केहीलाई शायद पहिलेदेखि नै संक्रमण भएको हुनसक्छ, तर त्यसको जानकारी कसैलाई थिएन । केही समयपछि जाँच गर्ने क्रममा संक्रमितको संख्या क्रमशः बढ्दै गई करिब २० पुगेको हो ।”
अहिले अधिकांश संक्रमितहरु कोरोनामुक्त भइ काममा समेत फर्किसकेका छन् । लक्जेमबर्गमा अहिले पाँच जना मात्र सक्रिय संक्रमित रहेका भए पनि अहिले उनीहरू सबैको स्वास्थ्य अवस्था सामन्य रहेको प्रवक्ता राईले जानकारी दिए ।