प्रज्जवल थापा । चेल्सीका स्ट्राइकर ओलिभिएर जिरुडको दुई गोलको सहयोगमा फ्रान्सले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । गएराति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जिरुडले दुई गोल गर्दा एन्टोइन ग्रिजमनले एक गोल थपे । खेलको २९ औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा फर्वाड करिम बेन्जिमा चोट बोक्दै मैदान बाहिरिएपछि फ्रान्सलाई झट्का लागेको थियो ।
तर ८३ औं मिनेटमा पभार्डको पासमा जिरुडले गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा पुर्याए । यस्तै ९० औं मिनेटमा बेन येडेरको पासमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० गोलको शानदार जित दिलाए ।
फ्रान्सले युरोकप-२०२० को तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको थियो । फ्रान्सले जुन १६ मा जर्मनीसँग खेल्दै युरोकपको शुरुवात गर्दैछ ।
