अमेरिकाको युनाइटेड वायुसेवाले १५ वटा सुपरसोनिक विमान किन्ने योजना रहेको भन्दै सन् २०२९ मा हवाई उडानमा आवाजभन्दा छिटो गति फर्काउने घोषणा गरेको छ ।
सन् २००३ मा ब्रिटिश वायुसेवा र एयर फ्रान्सले कन्कर्ड विमान उडाउन छोडेपछि सुपरसोनिक हवाई यात्रा टुङ्गिएको थियो । युनाइटेडले किन्ने भनेको ओभरटर विमान अमेरिकाको बुम नामक कम्पनीले निर्माण गर्ने छ । बुमले अहिलेसम्म विमानको परीक्षण उडान गरेको छैन ।
युनाइटेडको किन्ने सहमति सो विमानले सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेको अवस्थामा मात्रै लागु हुन्छ । विमानको गति आवाजको गतिभन्दा छिटो भएमा त्यसलाई सुपरसोनिक उडान भनिन्छ । यसको अर्थ ६० हजार फिटको उचाइमा १,०६० किलोमिटर प्रतिघण्टाभन्दा छिटो यात्रा गर्नु हो ।
सामान्यतया विमानहरू सो उचाइमा ९०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्छन् तर बुमको जहाज १,१२२ किलोमिटर प्रतिघण्टा उड्ने अपेक्षा गरिएको छ ।
त्यो गतिमा न्यूयोर्कबाट लन्डनसम्मको उडान समय आधा घट्ने बताइएको छ । बुमका अनुसार त्यो उडानको समय ३.५ घण्टा हुनेछ जुन अहिलेको उडान समयभन्दा तीन घण्टा कम हो । सन् १९७६ मा उड्न सुरु गरेको कन्कर्डको गति त्योभन्दा बढी अर्थात् २,१८० किलोमिटर प्रतिघण्टा थियो । कन्कर्ड विमान सन् २००३ देखि सञ्चालनमा छैन ।
