निषेधाज्ञामा सत्तारुढ दलकाे चुनावी कार्यक्रम, रमिते प्रहरीबाट औषधि किन्नेलाई दुर्व्यबहार

वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ । निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कनसमेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।

तर निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन् । निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ ।

एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएका हुन् । एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए ।

जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए । नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्बिर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएका छन् ।

भीडभाड गरेर चुनावी कार्यक्रम गरिएको तस्बिर र समाचार भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ ।

नेविसंघ पर्साका नेता विकास तिवारीले निषेधाज्ञामा औषधि किन्न आउने व्यक्तिलाई समेत रोकेर कुटपिट र दुर्व्यवहार गर्ने प्रहरीले चुनावी कार्यक्रम गर्दै हिँडेका सत्तारुढ दलका नेतालाई केही नभन्नुले आश्चर्य लागेको बताएका छन् ।

एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाउँमा भीडभाड गरेर आयोजना गरेका कार्यक्रमको तस्बिर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै तिवारीले लेखेका छन्,‘निषेधाज्ञामा नेतालाई चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ? के नियम कानुन सर्वसाधरण जनतालाई मात्र लाग्ने हो ?’

एमाले नेता एवम् पूर्वसांसद गुप्ताले भने आफूले चुनावी कार्यक्रम नगरेको प्रतिक्रिया दिए ।  उनले भने, ‘पोखरियाको सिवर्बाका मनोज कुर्मीको स्वास्थ्य अवस्था बुझ्नका लागि गएको थिएँ, त्यही स्थानमा एक जनाले आएर टीका लगाइदिनु भनेपछि मैले टीका मात्रै लगाएको हुँ । जबकी सामाजिक सन्जाल फेसबुकमा भाइरसल भएको तस्बिर नेता गुप्ता, एमालेका अर्का नेता प्रधुम्न चौहानले कार्यकर्ता माझ सम्बोधन गरेको प्रस्ट देखिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने निषेधाज्ञा अवधिमा  कुनै पनि भेला, सम्मेलन र कार्यक्रम गर्न नपाइने बताए । ‘एमाले नेता गुप्ताले गाँउमा गरेको कार्यक्रमका बारेमा मलाइ जानकारी छैन’, उनले भने, ‘यसबारेमा नेता गुप्तासँग म बुझछु ।’ याे समाचार अन्नपूर्ण पाेस्टमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *