प्यूठान । प्युठानमा आमासहित छोराछोरी जङ्गलमा मृत भेटिएका छन् । प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी मंगलबार मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई फेला परेको हो । सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्केको ससुरा गिरबहादुर सुनारले जानकारी दिए ।
उनले छोरा रोजगारीका लागि भारतमा रहेको जानकारी दिए । ती शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए ।
