महोत्तरी । महोत्तरीको विभिन्न स्थानमा आइतबार एकबिहानै कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिइन् ।
उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।
तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो ।मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन् ।
नुवाकोटका सङ्क्रमित युवाको मृत्यु
कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका ३३ वर्षका युवाको निधन भएको हो ।
अस्पतालको आइसोलेशन कक्षमा उपचाररत उनको अवस्था गम्भीर हुँदै गए पनि अस्पतालमा रहेको आइसीयू शय्या खाली नहुँदा बचाउन नसकिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
उनको आनुसार त्रिशूली अस्पतलामा कोरोना सङ्क्रमित बिरामीको चाप बढेसँगै शय्याको अभाव देखिएको छ । अस्पतालमा रहेको छ शय्याको आइसीयू, चार शय्याको एचडीयूसहित तीनवटा भेन्टिलेटरमा बिरामी भर्ना गरिएको कारण शय्या पाउन समस्या छ ।
ज्यान गुमाएका युवाको बुबाआमासहित परिवारका अन्य पाँच जनालाई पनि कोरोना सङ्क्रमित भएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । यस अस्पतालमा आजको यस घटनासहित पछिल्लो चार दिनमा दैनिक एक जना सङ्क्रमितले ज्यान गुमाउँदै आएका छन् ।
