प्रज्जवल थापा । काठमाडौं रेजर्स नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब काठमाडौंले फाइनल खेलमा धनगढी एफसीको सामना गर्नेछ । फाइनल खेल जेठ १ गते हुनेछ । पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाईनै २-१ गोलले पराजित गर्दै फाइनल पुगेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल प्रवेशको लागि भएको खेलमा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई र स्टेफेन बिनोङले एक गोल गरे । काठमाडौंले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । खेलको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई शुरुवाती अग्रता दिलाएका थिए । विपक्षी खेलाडी कमल श्रेष्ठले पेनाल्टी क्षेत्रमा मेसौकेलाई लडाएपछि रेफ्री प्रज्जवल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी दिएका थिए ।

२२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंको अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३-० गोलको सहज जित दिलाए । ललितपुरले पाएको अवसरलाई सदुपयोग गर्न असक्दा हार बेहोर्न बाध्य भयो ।
अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।
तस्बिर:- काठमाडौं रेजर्स एफसी फेसबुक
