प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले कीर्तिमानी गोल गरेको खेलमा युभेन्टसले जित हात पारेको छ । गएराति सिरि ए अन्तर्गत भएको खेलमा युभेन्टसले ससौलोलाई ३-१ गोलले पराजित गरेको हो ।
मपेइ रंगशालामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र एड्रिन राबियोटले समान एक/एक गोल गरेका हुन् । ससौलोको लागि गिएकोमो रास्पाडोरीले एक गोल फर्काए । पहिलो हाफको १६ औं मिनेटमा डोमेनिको बेरार्डी पेनाल्टीमा चुक्दा ससौलोले शुरुवाती अग्रता लिने मौका गुमाएको थियो ।

२८ औं मिनेटमा फेड्रिको चिएसाको पासमा राबियोटले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाए । ४५ औं मिनेटमा राबियोटको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । युभेन्टसको लागि रोनाल्डोको यो १ सय औं गोल हो । यससँगै रोनाल्डोले तीन क्लब र राष्ट्रिय टोलीबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
५९ औं मिनेटमा लोकाटेल्लीको पासमा रास्पाडोरीले गोल गर्दै ससौलोलाई ३-१ को स्थितिमा ल्याएका थिए । तर ६६ औं मिनेटमा कुलुसेभ्सीको पासमा डिबालाले गोल गर्दै युभेन्टसलाई ३-१ गोलको सहज जित दिलाए । उक्त गोलसँगै डिबालालेपनि युभेन्टसको जर्सीमा १ सय गोल पूरा गरेका छन् । जितसँगै युभेन्टस ३६ खेलबाट ७२ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ ।
