काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत रावलले त्यसका लागि आफूहरुले सांसद पदबाट राजीनामा गरि स्थिति निर्माण गर्नुपर्ने बताएका हुन् । उनले राजीनामा यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई आह्वान गरिसकेकी छन् । जसपामा दुई धार देखिँदा बहुमतको सरकार गठन हुने सम्भावना कम छ ।
त्यसैले नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिएमा जसपाको उपेन्द्र यादव पक्षले मात्रै साथ दिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनेछन् । नेता नेपाल पक्षका सांसदहरुले राजीनामा दिने खबर सार्वजनिक भइरहेका बेला रावलको यो भनाइले पनि उनीहरु पद त्याग गर्न लागेको अनुमान गर्न सकिन्छ ।
