भिड बढ्यो भनेर लाखाैँ नागरिकलाई पुग्ने खोप थन्क्याइयो

काठमाडौँ । खोप लगाउन आउनेको भिड व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले लाखौँ नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप थन्क्याएको छ । स्वास्थ्य मन्त्रालयले १५ वैशाखदेखि खोप अभियान स्थगित गरेको छ ।

मन्त्रालयका अनुसार कोभिसिल्ड खोप एक लाख ५४ हजार ११ डोज र चिनियाँ खोप भेरोसेल दुई लाख २२ हजार तीन सय ४० डोज मौज्दात छ । कोरोना महामारीमा बनाइएको भारतीय खोपको म्याद ६ महिनाको मात्रै छ । चिनियाँ खोपको म्याद दुई वर्षको हुन्छ ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिन पुग्ने गरी मौज्दात छैन । पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा १३ लाख ६४ हजार सात सय एक नागरिक छन् । ‘पहिलो डोज लगाएकाहरूलाई तत्काल दोस्रो डोज आउने सम्भावना देखिँदैन । मौज्दात खोपले दोस्रो डोज लगाउन मिल्दैन । त्यसैले बाँकी डेढ लाख पनि पहिलो डोजमै प्रयोग गर्नु राम्रो हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

त्यस्तै, चीन सरकारले अनुदानमा दिएको आठ लाख भेरोसेल खोपमध्ये दुई लाख ८८ हजार आठ सय ३० डोज मात्रै प्रयोग भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो डोज लगाएकाहरूका लागि आवश्यक खोप राखेर पनि दुई लाख २२ हजार तीन सय ४० डोज प्रयोग गर्न मिल्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ५० हजारलाई पुग्ने चिनियाँ खोप बाँकी रहेको बताए । ‘खोप केन्द्रहरूमा थामिनसक्नु भिड भएकाले चल्दाचल्दैको खोप रोकेका हौँ,’ उनले भने, ‘मन्त्रालयसँग छलफल गरेर केही दिनमा पुनः चलाउँछौँ ।’ सरकारले भेरोसेल १८ वर्षदेखि ५९ वर्षसम्मका सबैका लागि खुला गरेको थियो । अब भने प्राथमिकताका आधारमा मात्रै खुला गर्ने डा गौतमले बताए ।

३१ लाख ४८ हजार डोज खोप प्राप्तः १९ लाख पाँच हजारले दुवै डोज लगाए

स्वास्थ्य मन्त्रालयको खोप शाखाको तथ्यांकअनुसार अनुदानमा प्राप्त तथा खरिद गरिएको गरी अहिलेसम्म ३१ लाख ४८ हजार डोज खोप उपलब्ध भएको छ । यसमा भारतले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख डोज कोभिसिल्ड खोप जोडिएको छैन । भारतले १० लाख डोज कोभिसिल्ड र चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । कोभ्याक्स सुविधाबाट २२ लाख डोज उपलब्ध गराउने घोषणा भए पनि तीन लाख ४८ हजार डोज कोभिसिल्ड मात्रै प्राप्त भएको छ । त्यस्तै, सरकारले भारतीय कम्पनी सेरमलाई २० लाख डोजको रकम अग्रिम भुक्तानी गरे पनि १० लाख डोज मात्रै प्राप्त भएको छ ।

अहिलेसम्म १९ लाख पाँच हजार एक सय ५९ नागरिकले दोस्रो डोज खोप पनि लगाइसकेका छन् । त्यस्तै, ६५ वर्षमाथिका १३ लाख ६४ हजार सात सय एकजनाले पहिलो डोज लगाए पनि दोस्रो डोज पाएका छैनन् । खोप उपलब्ध भए जेठ पहिलो हप्ताबाट दोस्रो डोज लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ । सरकारले पहिलो डोज लगाएको आठदेखि १० हप्तामा दोस्रो डोज दिने बताएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *