यात्रुसँग बढी भाडा लिने २१ जना पक्राउ

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले ६ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु नै ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन् । यसले महामारीको अवस्थामा मौकाको फाइदा लिने समूह सक्रिय रहेको देखाउँछ । हालसम्म महाशाखाले २१ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ ।

महाशाखाले निषेधाज्ञा लागू भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गर्न डेडिकेटेड सिभिल टोली समेत परिचालन गरेको छ । टोलीले त्यस्ता स्थान तथा काउण्टरहरुमा गई निगरानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ्ग गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ । टोलीले आइतबारमात्रै ४ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

उनले पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्नु सोचनीय बिषय रहेको र यातायात व्यवसायीहरुकोसमेत यसतर्फ विशेष ध्यान जानुपर्ने बताए ।

निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले काठमाडौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी नगरपालिका वडा नम्बर ८ का बर्ष २४ को योगेन्द्र बोहोरा र बर्ष ३० का आकाश बिष्टलाई पक्राउ गरेको हो । ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायात मार्फत धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएका हुन् ।

त्यसैगरि थाहा नगरपालिका वडा नम्बर ३ हेटौडा घर भई बालाजु बस्ने वर्ष ३२ का अमृत बिष्ट र गोरखा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि पैतालिस सय रुपैयाँसम्म लिने गरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ ।
महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *