प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको उपाधि होडमा रहेका दुई ठुला क्लब बार्सिलोना र एथ्लेटिको म्याड्रिडले बराबरी खेलेका छन् । शनिबार क्याम्प नोउमा भएको खेलमा बार्सिलोना र एथ्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेलेका हुन् ।
बराबरीसँगै दुवै टोलीले अङ्क बाढेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन सकेनन् । खेलको तेस्रो मिनेटमै लेमारको प्रहार बार्सिलोना गोलरक्षक टेर स्टेगानले बचाउदा एथ्लेटिकोले खेलमा अग्रता लिने मौका गुमायो । १० औं मिनेटमा स्वारेजले फ्रिकिक सिधै गोलरक्षकको हातमा दिए । २९ औं मिनेटमा डि योङको पासमा बार्सिलोनाका ग्रिजमनले गरेको प्रहार ओब्लाकले बचाए ।
३३ औं मिनेटमा कारास्कोको पासमा लोरेन्टेले गरेको प्रहार स्टेगानले बचाए । लगत्तै स्वारेजको प्रहारमा फेरि स्टेगान बाधक बने । ३७ औं मिनेटमा कारास्कोको प्रहार स्टेगानले बचाउदा एथ्लेटिकोले खेलमा अगाडि बढ्ने मौका गुमायो । ४१ औं मिनेटमा बार्सिलोनाका मेस्सीले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

दोस्रो हाफमापनि दुवै टोली आक्रमक रुपमा प्रस्तुत भएका थिए । ४८ औं मिनेटमा स्वारेजको प्रहारले पोस्टको दिशा लिन सकेन । ६३ औं मिनेटमा मेस्सीको पासमा पिकेको प्रहार ओब्लाकले बचाउदा बार्सिलोनाले खेलमा अग्रता लिने मौका गुनायो । ६७ औं मिनेटमा मेस्सीको प्रहार ओब्लाकले उत्कृष्ट बचाउ गरे । ७१ औं मिनेटमा बार्सिलोनाका अरौजोले गोल गरेपनि अफसाइड भएको कारण मान्यता पाएन ।
८५ औं मिनेटमा डेम्बेलेको फ्रि हेडर पोस्ट माथिबाट बाहिरियो । निर्धारित समयमा गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीका बाबजुद एथ्लेटिको ३५ खेलबाट ७७ अङ्क जिड्दै लिगको शिर्ष स्थानमा रहेको छ भने समान खेलबाट ७५ अङ्क जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
दुई टोलीले बराबरी खेलेसँगै रियल म्याड्रिडलाई शिर्ष स्थानमा उक्लिने अवसर मिलेको छ । यससँगै आइतबार हुने खेलमा सेभिल्लालाई पराजित गरेको खण्डमा रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिनेछ । हाल म्याड्रिड ३४ खेलबार ७४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ ।
