हाजार्डलाई बेच्ने रियल म्याड्रिडको तयारी

एजेन्सी- बेन्जियन फर्वार्ड इडेन हाजार्डलाई बेच्ने रियल म्याड्रिडले तयारी गरेको छ । रियल म्याड्रिडको हाजार्ड माथिको धैर्य सिमामा पुगेको छ र क्लबले टिमका अन्य सदस्यसँगै हाजार्डलाईपनि ट्रान्सर्फर बजारमा राखेको छ ।

अन्य खेलाडीको भन्दा हाजार्डको अवस्था भने फरक छ । सन् २०१९ मा हाजार्ड क्लबको अर्को सुपरस्टार हुने लक्ष्यसाथ म्याड्रिडमा भित्रिएका थिए । तर उनि लगातार घाइते हुँदा ‍र अन्य केही परिस्थितिले गर्दा हाजार्डलाई बेच्न क्लब बाध्य बनेको हो । अब भने क्लबले हजार्डको लागि अफरहरु सुन्न थालेको छ ।

चेल्सीमा रहँदा उत्कृष्ट प्रदर्शन गरेका हजार्डलाई क्लबले १ सय १५ मिलियन युरोमा भित्र्याएको थियो । हजार्डलाई स्वागत गर्न ५० हजार समर्थक रियलको घरेलु मैदान इस्टेडियो सान्टियगो बेर्नाबेउ पुगेका थिए । सिजन सकिन अझै चार खेल बाँकी छ । रियल म्याड्रिड हाल ला लिगा उपाधिको लागि कडा प्रतिस्पर्धा गरिराखेको छ । ला लिगाको उपाधि जितेपनि हाजार्डलाई बेच्ने क्लबको मनसाय परिवर्तन नहुने विभिन्न विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार रियल म्याड्रिड इङ्लिस क्लब चेल्सीसँग पराजित हुँदै च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो । हाजार्ड पुर्व क्लबका खेलाडीसँग ठट्टा गर्दै हासेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । हजार्डको उक्त हर्कतदेखि रियल म्याड्रिड समर्थक खुशी थिएनन् र हजार्डले समर्थकसँग माफीपनि मागिसकेका छन् ।

चेल्सीविरुद्धको खेलमा क्लबले हाजार्डबाट धेरै अपेक्षा राखेको थियो तर उनले राम्रो प्रदर्शन गर्न सकेनन् । उक्त खेलपश्चात् क्लबले हाजार्डलाई बेच्ने निर्णय लिएको भने हैन । यो निर्णय केही दिन अगाडि नै भैसकेको थियो । शुरुवात देखिनै खराब किस्मत र प्रदर्शनबाट क्लबका बोर्ड सदस्यपनि हाजर्डदेखी खुशी छैनन् ।

समर्थकसँगको सम्बन्धको बारेमा चाहिँ अन्य खेलाडी भन्दा हाजार्ड केही भाग्यमानी देखिएका छन् । कोरोना महामारीको कारण खेल बन्द रंगशालामा भएको छ । जसले गर्दा उनी समर्थकबाट प्रतिक्रिया पाउनबाट बचिरहेका छन् । तर कसैले रंगशालामा समर्थक नभएको कारण उनी मोटिभेट हुन नसकेकोपनि भनेका छन् ।

हजार्डको सम्झौतामा अझै ३ वर्ष बाँकी रहेको छ । लगातारको इन्जुरी र खराब प्रदर्शनको कारण हाजार्डको मुल्यपनि ओरालो लागेको छ । सन् २०१९ मा उनको मार्केट मूल्य १५० मिलियन युरो थियो तर ट्रान्सर्फर मार्केटको अनुसार अहिले घटेर ४० मिलियन युरो पुगेको छ ।

गत सिजन उनले म्याड्रिडबाट २२ खेल खेलेका थिए र यस सिजन १८ खेल खेलेका छन् । हाजार्ड भने जिदानले पहिलेदेखि नै चाहेको खेलाडी हुन् । सन् २०१२ मा चेल्सी जानुअघि नै उनले हाजार्डलाई म्याड्रिड ल्याउन चाहेका थिए । अर्को सिजनको लागि जिदानले उनलाई टिममा चाहेका छन् तर क्लबले उनको लागि अफरपनि सुन्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *