दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सर्वोच्चका दुई न्यायाधीशको इजलासले बस्न्यातलाई यस अवस्थामा थुनामा राख्नु मानवीय दृष्टिले अनुचित हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमुनासिव र अनुपयुक्त देखिएको भन्दै थुनामा राख्ने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश बेरीतको देखिएको भन्दै बदर गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *